एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा

Madhukar Pandey २८ असोज २०७७, बुधवार

विनय माेहन साउद र सुधीर पराजुली सानैदेखिका सहपाठी । विद्यालय तहदेखिको उनीहरुको मित्रता उच्च शिक्षा अध्ययन गर्दासम्म जारी नै रह्यो ।

इन्जिनियरिङको अध्ययन सँगै गरेका उनीहरुले औपचारिक पढाइ सिध्याएसँगै व्यवसायमा हात हाल्ने निधो गरे । सानो लगानीमा व्यापार सुरु पनि गरिहाले । इन्जिनियरिङ अध्ययन पुरासँगै उनीहरुले आफूले पढेकै विषय अर्थात इन्जिनियरिङ सम्बन्धी सामानहरुको सप्लाईको व्यापार गर्न शुरु गर्ने सोचे ।

विनयले यो काममा आफ्नो अर्का साथी सुरेन्द्र श्रेष्ठलाई पनि सहभागी गराउने सोचे । सुरेन्द्र पनि विनयका सानैदेखिका साथी थिए । उनी ठमेलमा होटल व्यवसाय सञ्चालन गर्थे । विनय र सुधीर मिलेर शुरु गर्न लागेको व्यवसायीमा उनी पनि मिसिने भए । उनीहरुले ४०/४० हजार रुपैयाँ शुरुमा लगानी गरे । अनि एक थान कम्प्युटर किनेर सुरेन्द्रकै होटलको एक कोठामा कार्यालय स्थापना गरियो । यसरी भयो सुविसुको बिजारोपण ।

आज नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा दरिएको छ सुविसु केवल नेट प्रालि । विनय यसका प्रमुख कार्यकारी अधिकृत हुन् भने सुधीर अध्यक्ष हुन् । उनीहरुले सुरुमा इन्टरनेट सेवा दिने भनेर काम थालेका थिएनन् । तर, पनि इन्जिनियरिङ सम्बन्धी काम गर्ने भएकाले उनीहरुलाई यसबारे धेरथोर ज्ञान भने थियो ।

व्यवसाय सुरु गरेपछि तीन मध्येका एक पार्टनर सुधीर एमबीए अध्ययनका लागि भारत गए । दिल्लीबाट उनले एकदिन एउटा सन्देश पठाए, जसमा केवल इन्टरनेटको व्यवसाय गर्ने विषयमा । त्यसबेला टीभी र इन्टरनेट एउटै तारबाट सेवा दिन सकिने प्रविधि अमेरिकामा निकै चर्चित थियो । कोएक्सेल केवलमार्फत अमेरिकामा टीभी र इन्टरनेट एउटै तारबाट दिन सुरु भएको कुरा सुधीरले सन्देशमा उल्लेख गरेका थिए । त्यसबारे जानकारी दिने पत्रिकामा प्रकाशित समाचारको कटिङसमेत उनले पठाएका थिए ।

सुधीरको प्रस्तावले विनयलाई आकर्षित गर्यो । तर उनले सुधीर फर्केपछि मात्रै व्यवसाय गर्ने बताए । सुधीले एमबीए सकिनेवित्तिकै आउने भनेपछि इन्टरनेटको व्यवसाय शुरु गर्ने सोच बन्यो ।

त्यतिञ्जेल उनीहरुले केही पैसा कमाएका थिए । उमेरले भर्खरै २५/२६ वर्ष पुग्दै गरेका उनीहरुले अनावश्यक खर्च कहिल्यै गरेनन् ।

‘उमेर त मोजमस्ति गर्ने नै थियो, तर हामीले गरेनौं,’ विनय भन्छन्, ‘एउटा गाडी पनि नकिनेर हामीले मोटरसाइकलबाटै काम चलायौं ।’

तर यसरी जोगाएको पैसा उनीहरुलाई व्यवसाय थाल्नका लागि भने पर्याप्त थिएन । र पनि उनीहरुले आँटे । सन् २००० मा नेपाल दुरसञ्चार प्राधिकरणमा केवल इन्टरनेट सञ्चालनका लागि अनुमति माग गरे । तर सुरुमा उनीहरुलाई प्राधिकरणले पत्याएन । उनीहरुले लाइसेन्स पाएनन् ।

उनीहरुले हिम्मत हारेनन् । पुनः दोस्रो पटक आवेदन दिए । फेरि पनि सफलता हात परेन । त्यसबेला केवल टिभीको भने सहजै लाइसेन्स पाउने स्थिति थियो । त्यसैले उनीहरुले सञ्चार मन्त्रालयमा आवेदन दिए । १ जनवरी २००१ मा केवल टेलिभिजनको लाइसेन्स उनीहरुलाई मिल्यो ।

लोकप्रिय